वैदेशिक अध्ययनमा जान चाहने नेपाली
विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) प्राप्त गर्ने प्रक्रिया अब अझ सहज र पूर्ण रूपमा अनलाइन बनेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी प्रणालीलाई
फेसलेस बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ
विश्वविद्यालय (केयू) का प्रणालीहरूसँग एपीआईमार्फत अन्तरआवद्धता सम्पन्न गरेको
जनाएको छ।
यस व्यवस्थापछि विद्यार्थीहरूले अब
घरबाटै अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् र सम्पूर्ण प्रक्रिया पूरा
भएपछि प्रमाणपत्र आफैं डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। नयाँ एनओसी
सर्टिफिकेटमा क्यूआर कोड पनि समावेश गरिएको छ, जसले यसको डिजिटल प्रमाणीकरणलाई अझ सहज बनाएको छ।
यसअघि विश्वविद्यालयसँग प्रत्यक्ष
प्रणाली जडान नभएकाले स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्न जाने
विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि एनओसी कार्यालयमा
भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था थियो। तर अब त्रिवि र केयू सँगको अन्तरआवद्धतापछि
आवेदनमा दिइएको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रमाणपत्रको विवरण स्वतः
प्रणालीबाट प्रमाणीकरण हुने भएकाले कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।
यससँगै, नागरिकताको विवरण गृह मन्त्रालयअन्तर्गतको सिटिजन इन्फरमेसन म्यानेजमेन्ट
सिस्टम (CIMS) बाट र एनईबी सम्बन्धी विवरण सम्बन्धित
प्रणालीबाट प्रमाणित हुने व्यवस्था पहिले नै लागू भइसकेको छ। साथै, एनओसी शुल्क पनि महालेखा नियन्त्रण कार्यालयको रिमास प्रणालीमार्फत पूर्ण
रूपमा अनलाइन भुक्तानी गर्न सकिने बनाइएको छ।
मन्त्रालयका अनुसार, यो सुधारले विद्यार्थीहरूलाई समय, लागत र झन्झट कम
गर्दै वैदेशिक अध्ययन प्रक्रियालाई थप सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
स्रोत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय