नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पुस २८
गते अर्थात् आज भइरहेको निर्वाचन यसपटक केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई
संगठनभित्रको शक्ति सन्तुलन, मतदाता मनोविज्ञान र डिजिटल निर्णय प्रक्रियाको
गहिरो परीक्षा बनेको छ। एलिस रिसेप्सन, गैरीधारामा आज सम्पन्न हुने साधारण सभाका लागि
देशभरका सदस्यहरू काठमाडौँ आइपुगेका छन्।
यस निर्वाचनमा मुख्य रूपमा स्थापित, अनुभवयुक्त
‘लेगेसी टिम’ र नयाँ सोच,
दृष्टि
र परिवर्तनको एजेन्डा बोकेको ‘न्यु भिजनरी टिम’बीच कडा प्रतिस्पर्धा देखिएको छ।
दुवै प्यानलका उम्मेदवारी घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भए—एक रेडिसन होटल
लाजिम्पाटमा र अर्को एलिस रिसेप्सन गैरीधारामा। सहभागिता उल्लेखनीय रहे पनि ती
कार्यक्रममा देखिएको भीडले मतको वास्तविक दिशा भने स्पष्ट गर्न सकेन।
चुनावको सबैभन्दा रोचक पक्ष भनेकै उही सदस्यहरू
दुवै कार्यक्रममा देखिनु,
दुवै
पक्षका उम्मेदवारसँग फोटो खिचिनु र सार्वजनिक रूपमा तटस्थ देखिनु हो। यसले देखाउँछ
कि कार्यक्रममा उपस्थित हुनु समर्थन होइन, सम्बन्ध, सम्मान र भविष्यको सहकार्यप्रतिको सचेत व्यवहार
हो। डिजिटल मतदान प्रणाली भएकाले धेरै मतदाता सार्वजनिक प्रतिबद्धताभन्दा निजी
निर्णयमा केन्द्रित देखिन्छन्।
यसपटकको प्रचारप्रसार अघिल्ला निर्वाचनभन्दा फरक
छ। बाहिरबाट हेर्दा दुवै टिम संगठित, आत्मविश्वासी र सक्रिय देखिए पनि भित्री तहमा
चुनाव खुला नाराभन्दा व्यक्तिगत सम्पर्क, मनोवैज्ञानिक प्रभाव र डिजिटल माध्यममा आधारित
हुँदै गएको छ। ठूला कार्यक्रमहरू मत सुनिश्चित गर्नेभन्दा बढी उपस्थिती र प्रभाव
देखाउने माध्यम बनेका छन्।
धेरै सदस्यहरू खुलेर कुनै एक प्यानलको पक्षमा
उभिन चाहँदैनन्। सामाजिक सञ्जालमा देखिने समर्थन, शुभकामना र फोटोहरू औपचारिक
सम्बन्धसम्म सीमित छन्। निर्वाचनपछि पनि दुवै टिमसँग सहकार्य गर्नुपर्ने यथार्थ, मिश्रित
कार्यसमिति बन्ने सम्भावना र डिजिटल मतदानले दिएको स्वतन्त्रताले मतदातालाई अझ मौन
बनाएको छ। यही कारण, देखिने
समर्थन र वास्तविक मतबीच दूरी हुन सक्ने सम्भावना बढेको छ।
अर्को उल्लेखनीय पक्ष भनेको अन्तिम क्षणसम्म
निर्णय स्थगन गर्ने प्रवृत्ति हो। दुवै टिममा आफूले सम्मान गर्ने व्यक्तिहरू हुनु, अध्यक्ष र अन्य
पदमा फरक रोजाइ हुनु र अन्तिम घडीको व्यक्तिगत सम्पर्कको प्रतीक्षा गर्नु मतदाताको
साझा मनोविज्ञान बनेको छ। यसले यो निर्वाचनलाई लहरभन्दा बढी “लास्ट–मिनेट
इम्प्याक्ट” मा निर्भर बनाइदिएको छ।
अब प्रतिस्पर्धा मञ्च र माइकमा सीमित छैन। कसको
मोबाइल नेटवर्क बलियो छ, कसले
सही समयमा व्यक्तिगत सन्देश पुर्याउन सक्छ, कसले “भोट हाल्न नबिर्सनु” भन्ने कुरा प्रभावकारी
ढंगले सम्झाउन सक्छ—निर्णायक त्यही बन्ने संकेत स्पष्ट देखिन्छ। यस अर्थमा, इक्यानको यो
निर्वाचन प्रचारभन्दा बढी मनोविज्ञान, नेटवर्क र डिजिटल रणनीतिको लडाइँ बनेको छ।
समग्रमा, बाहिर देखिने गतिविधिभन्दा भित्री तहको निर्णय
प्रक्रिया बिल्कुल फरक छ। स्थापित लेगेसी टिम र नयाँ भिजनरी टिम दुवै बलिया छन्, तर जित अन्ततः
मौन मतदाताको मन अन्तिम क्षणमा जित्न सक्ने टिमको हातमा जाने देखिन्छ। यही कारण, आज एलिस
रिसेप्सन, गैरीधारामा
हुँदै गरेको इक्यान निर्वाचन नतिजा अनुमानभन्दा फरक दिशामा जान सक्ने अत्यन्त
प्रतिस्पर्धात्मक र चासोपूर्ण चुनाव बनेको छ।