अष्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामीण सहर स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा एउटै नेपाली परिवारका तीन सदस्यले ज्यान गुमाएका छन्। उक्त दुर्घटनामा बाबु, आमा र उनीहरूको सानो छोरा घटनास्थलमै मृत्यु भएका हुन्, जबकि सोही गाडीमा सवार हजुरआमा घाइते भई उपचाररत छिन्।
सेभेन न्युजका अनुसार, परिवार सवार गाडी मुख्य सडकमा प्रवेश गर्ने क्रममा मालवाहक ट्रकसँग ठोक्किएको थियो। दुर्घटनापछि उद्धार टोलीले घाइते वृद्धालाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याएको र अहिले उनको अवस्था स्थिर रहेको जनाइएको छ।
ट्रक चालक सामान्य रूपमा घाइते भएका छन् भने सो परिवारका अन्य सदस्यहरू अर्को गाडीमा यात्रा गरिरहेका थिए र केही समयपछि मात्रै उनीहरूले दुर्घटनाको खबर पाएका थिए।
भिक्टोरियाका नेपाली वाणिज्यदूत निराजन गौलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै तीन नेपाली नागरिकको निधन भएको र एक जना उपचारमा रहेको पुष्टि गरेका छन्। एनआरएनए भिक्टोरियाका संयोजक महादेव धानुकले समेत परिवारसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि नेपाली समुदाय तत्पर रहेको बताएका छन्।