"जिउँदै बर्बाद"
दुःखले सुख खोज्छ, सुखले काल भनेर बुढापाकाहरूले मिठो उखान बनाएका थिए। एउटा सुख भेट्न कैयौं दुःखहरू पार गर्नुपर्छ। सत्य कुरा त यो हो ,दुःख पार गर्दागर्दै सुख नभेटी जीवनको अन्त्य पनि हुन सक्छ किनकि मान्छे मात्र एक प्राणी हो जसले जति कुरा प्राप्त गर्दा पनि त्यसमा सन्तोष नमानेर धेरै आबस्यकता निम्त्याउँदै अभावमै जिन्दगीको अन्त्य गर्दछ ।सामाजिक आलोचनाहरुको कारणले मान्छे बाहिर हिमाल हाँसेको जस्तो देखिए पनि भित्र भित्रै खरानी हुँदै प्रताडित भएका हुन्छन् । फलाम पिटिएर राम्रो हतियार बने जस्तै जति हन्डर खाँदै गयो त्यति नै मान्छे अनुभवी र परिपक्क पनि हुन्छ ।
जिन्दगीमा धेरै घटनाहरू घटेका हुन्छन्।
कुनै कुनै घटनाहरु यस्ता हुन्छन् जुन कहिले बिर्सन सकिँदैन । अविस्मरणीय घटनालाई शब्द लहरमा
उतार्दा निकै आनन्द मिल्छ। रोजगारको
सिलसिलामा म युरोपको साइप्रसमा घरेलु कामदारको रुपमा काम गरिरहेकी थिए। चर्को
कामको साथै चर्का मान्छेसँग शारीरिक अवस्था र मानसिक अवस्था दुवै सबल नहुँदा
रहेछन्। सम्झौता पत्रमा लेखिएको श्रम समय र बाध्यताका श्रम समय नमिल्दा मनस्थितिले
श्रम र पैसाको हिसाब अवश्य गर्छ। किनकि समयको हिसाबमा पैसा कमाउन हिँडेको मान्छेले
समय र पैसाको बराबर हिसाब गर्दो रहेछ। हिसाब नमिले पनि बाध्यताले श्रम चुसाउनै
परेको थियो। जुकारुपी मान्छेहरु जति चुसे पनि नअघाउने हुँदा रहेछन्। जसरी जुका रगत
चुस्ता चुस्तै भुँडी फुलेको पत्तो नपाई भुँडी फुटेर मर्छ त्यसरी नै असन्तुष्ट
मान्छेहरूलाई सन्तुष्ट दिन निकै हम्मे
पर्दो रहेछ। बेला बेलामा जुका जस्ता मान्छेको मुख थुत्दै सन्तुलनमा ल्याउँदै
नगरेको होइन। नमिल्दो भाषा र नमिल्दा मान्छेसँग धेरै टकराव गर्नु पनि ठीक थिएन।
त्यसैले काम छोड्ने विचार गरेँ तर त्यहाँबाट निस्किन अनुमति पत्र कामदाता तथा
कामदार दुबैले हस्ताक्षर गरेर लिनुपर्थ्यो। कामदाताले त्यो पत्र नदिने भएपछि
सानोतिनो विद्रोह नै गर्नुपरेको थियो। तीन दिनको लगातार विद्रोहपछि काम गरेको
पारिश्रमिक र पत्र लिन सफल भएँ।
यहाँ नेपालीहरू पनि जुका भन्दा कमका थिएनन्।
विभिन्न संघसंस्था खोलेर दुःखीहरूलाई चुसेर मोटा भएका थिए। यही मुलुकमा आएर सडकमा बास बसेर आँसु चुहाउँदै
फर्किनेहरू पनि धेरै थिए । कसैले यही आएर आत्महत्या गरेका पनि थिए । कोही पैसाका बिटामा सुतेर फर्किनेहरु पनि धेरै थिए
र छन । यहाँ त अप्ठ्यारोमा परेकाहरूलाई
आफ्नै साथी बनाएर पनि चुस्दा रहेछन्। काम नपाएर बसेका धेरै परिश्रमीहरु बतासले
उडाएका पात जस्तो चौरमा अस्त व्यस्त नै बस्ने गर्दथे । कतै कसैले नाफामा
अपार्टमेन्ट खोलेका थिए। थोरै तलब हुनेहरू अपार्टमा गएर बस्नु भनेको आफै सिद्धिनु
थियो। त्यही भएर मैले अपार्टमा बस्ने निधो
गरिनँ। साँढे चार वर्षको बसाइमा आफ्ना व्यक्तिगत सामानहरू निकै भएका रहेछन्। फाल्न सकिने र मिल्नेहरू फाली
दिएँ।फाल्न नसकिने र चाहिने सामानहरू बोक्नैपर्ने थियो। न सामान राख्ने ठाउँको
टुङ्गा थियो न आफू बस्ने ठाउँको टुङ्गा थियो । म बिना टुङ्गो घरबाट निस्किएँ ।
धेरै साथीहरुले मलाई राम्ररी चिन्नु
हुन्थ्यो र माया पनि धेरै गर्नु हुन्थ्यो । सबै
साथीहरु घरको काम गर्ने भएकोले कसैको घरमा गएर बस्ने अनुमति थिएन। जति माया
भए पनि भिडियो कलमा टुलुटुलु हेर्नु सिवाय केही गर्न सकिंदैन थियो । सामान बाटोमा
निकालेर साथीले दिएको ट्याक्सी वालालाई फोन गरेँ नभन्दै दस मिनेटमा ट्याक्सी आयो ।
मैले ट्याक्सी वालाको अनुहारमा हेरिन। समान ट्याक्सी भित्र राख्दै म बोल्न थाले -“थ्याङ्क यु ब्रदर. यू एराइभ्ड
क्विक्ली। नाउ प्लिज टेक मी टु दिस लोकेशन ।" उनको उत्तरमा"
हुन्छ।" भन्ने सुनेपछि म झस्किएँ र उनको अनुहार हेरेँ। उनी मुसुक्क हाँसे म
लज्जित भएर हाँसे ।"नेपाली भाइ
हुनुहुँदो रहेछ । खुसी लाग्यो ।"मैले भनेपछि भाइले हाँस्दै भन्नु भयो।"मैले हजुरलाई फेसबुकमा देखेको थिएँ ।देख्ने बितिकै चिनिहालेँ। राम्रो
कविताहरू लेख्नु हुँदो रहेछ । म हजुरको
पाठक हुँ ।लाइक कमेन्ट गरिरहेको हुन्छु। तर फोटोमा स्मार्ट हुनुहुन्छ
वास्तवमा अलि फरक देखें । मलाई हजुरको लेखन खुब मन् पर्छ । केही दिन हाल्नु भएन
भने सर्च गरेर हेर्छु । हजुरको
लेखनमा म मेरो जीवन भेट्छु । ।मैले हजुरको
कुनै कुनै लेख सेभ गरेर राखेको छु नभए
हेर्नु होस् त । वहाँले मोबाइल खोल्दै मेरो फोटो र लेख सेभ गरेको देखाउनु भयो
।" मेरो यति धेरै माया गर्ने भाइलाई मैले नचिनेकोमा अझै लाज बढेर आयो ।
त्यसपछि हामी कुरा गर्दै मैले दिएको लोकेसन्तर्फ दौडियौँ। त्यो लोकेशन साथी रुपा
बस्नेत थियो ।त्यहा समान मात्र राख्ने ठाउँ पाएकी थिएँ।
रुपाको जन्म झापामा भएको थियो। रुपा बस्नेत ,जुना गिरी र म एउटै हवाईजहाज चडेर साइप्रस आएका थियौँ ।सामान रुपाकोमा पुर्याएर भाइ फर्किनु भयो । मलाई वहाँले केही नेपालीहरूको अपार्टमेन्टको नम्बर दिएर सहयोग गर्नु भएको थियो । यही लेखबाट वहाँलाई हार्दिक आभार प्रकट गर्दछु ! ती ठाउँ साइप्रसका होटलको रेट भन्दा केही सस्तो त थिए तर म बस्न सक्ने औकातका थिएनन्।
रुपाकोमा चोरले चौतर्फी हेरे जस्तै चौतर्फी हेर्दै
सामान राखियो। मानौँ मैले ठुलै अपराध गर्न त्यो घरमा लुकिछिपी हेरिरहेकी छु। त्यो
समयमा वहाँको मालिकनी नआइपुगोस् या उसका छिमेकीले नदेखुन भन्ने हाम्रो चाहना थियो
र जति सक्दो जोगिनु थियो । मैले गर्दा रुपाको जागिर धरापमा नपरोस् मेरो चाहना थियो
कसैलाई दुःख दिने चाहना नहुँदा नहुँदै पनि धेरैलाई दुःख दिन पुगेकी थिएँ । त्यसको
लागि क्षमा प्रार्थी छु।सामान राखिसकेपछि अलिकति ढुक्क भयो। तर हिमाल बोकेर चलेको
शक्तिशाली हावासँग खुल्ला चौरमा सामना गर्नैपर्ने थियो। म खुल्ला चौरतिर लागें ।
रूपाको आँखामा दयाको आँसु छल्किएको थियो। उहाँसँग बस्ने सिङ्गो घर हुँदाहुँदै पनि
उहाँको प्रिय मित्र शक्तिशाली चिसो हावासँग सामना गर्न पार्कतर्फ फैलिँदै थिई।
"दिदी हावा छलिने ठाउँमा बस्नु है ।"
रूपाको मलिन आवाजले मलाई भनिरहेको थियो। मैले हुन्छ भने तर त्यो चौरको कुनै पनि
कुना त्यस्तो थिएन जसले मलाई हावाबाट जोगाओस्। रुखले मर्किएर भुइँ छुन खोजिरहेका थिए। हावा बेजोड सुसाइरहेको थियो।
दिनले प्रकृतिक मुहार र कालो भएको थियो
।त्यसै बखतमा एकजना प्रिय अग्रज साहित्यकारले फोन गर्नुभएको थियो। मैले कसेर
राखेको मेरो मनको अगाडि मेरो अवस्था देखेर उहाँले चस्माको छेउबाट आँसुका ढिक्काहरु
खसाल्नु भयो । यस्तो देखेपछि मेरो मन स्थिर विहीन भएर खुकुलियो। मेरो आवाजको बलले
साइप्रस थर्काएर रुन मन थियो तर त्यो आवाज सबैले सुन्ने भएकोले आफ्नो बललाई ओठले
बन्द गरेर स्वासले छोडिदिएँ। बेजोड बलले आँसु मार्फत पीडाहरू पखाली रहेकी थिएँ।
मान्छेलाई गरिबीले कति कठोर अपमान र पीडा दिएको हुन्छ। त्यो भोगिरहेकी थिए। लोग्ने
मान्छे रुँदैनन् भन्ने कुरालाई उहाँले झुटो प्रमाणित गरिरहनुभएको थियो।।आफ्नो
श्रीमान र छोरासँग नझारेका आँसु कुनै प्रिय मित्रसँग बल गरेर झारिरहेकी थिएँ। सायद
आँसुले आँसुको मार्का बुझेको भएर होला।
एकआपसमा हामी दुबैका आँसु अनवरत खसिरहेका थिए। उहाँले भन्दै हुनुहुन्थ्यो
"नजिक भए न्यानो बास र सिधोपिठो बाँडेर खाने थियौँ हजुर यति टाढा हुनुहुन्छ
जसको दूरी अनुमान गर्न पनि सक्दिनँ। यदि हजुरसँग पैसा छैन भने मलाई त्यहाँको
एड्रेस र खाता नम्बर पठाउनुहोला। मैले हजुरलाई असजिलो परेको देख्न पटक्कै सकिनँ।
कुनै होटलमा गएर बस्नुहोला। यति भन्नु उहाँको महानता थियो। त्यो महान आत्मलाई
भित्री आत्माले नै सलाम गरेँ। खै किन हो त्यसपछि झन् उहाँ अति प्रिय हुनुभयो।
फेसबुकबाट चिनेका मित्रमा आत्मीयता हुँदैन भन्ने कुरो उहाँले झुटो साबित गरिरहनु
भएको थियो। फेसबुकबाट चिनेको नभएर सानैदेखि चिनेको , एउटै आँगनमा खेलेको जस्तो अति प्यारो हुनु भयो । म बोल्न नसकेरै बोलिरहेकी थिएँ।
उहाँ पनि त्यसरी नै बोलिरहनु भएको थियो।अहिलेलाई मैले स्यालरी लिएको छु। मसँग पैसा
छ।आवश्यकता परे भन्नेछु भन्ने जवाफ दिएँ। चस्मा निकालेर आँसु पुस्दै फोन काट्नु
भयो । म त्यही हावासँग सामना गर्दागर्दै वर्षाको पनि सामना गर्न पुगें। जसरी म र
मेरो प्रिय मित्र रोएका थियौँ त्यसरी नै आकाश पनि रुन थालेको थियो।
अवस्था नाजुक थियो। नाजुक अवस्थामा
रुपाले आफ्नो मन सम्हाल्न सक्नुभएनछ र मलाई फोन गरेर बोलाउनु भयो। म उहाँकोमा गएँ।
खाना खाएँ। उहाँले मलाई उहाँको कोठामा राख्नुभयो। दुईवटा सिसी क्यामेराको
निगरानीमा पनि म उहाँको कोठामा बसिरहेकी थिएँ। बस् उहाँको कोठामा मात्र सिसी
क्यामेरा थिएन। बाहिर गाडीको आवाज आयो। रुपा अतालिँदै हेर्न जानुभयो। नभन्दै
उहाँको बुढीको छोरी आइपुगेकी रहिछ। दौडिँदै आएर दराजको छेउमा देखाउँदै दिदी यहाँ
चुपचाप बस्नुहोला। म त्यसरी नै बसे।
रुपाको कोठाको ढोका खुल्लै थियो । कतिपय
ठाउँमा हामीले आफु सुत्ने कोठाको ढोका लगाउन पाउँदैनौँ । रुपाको हालत त्यही थियो ।
रुपाको सुत्ने कोठाको ढोका,बैठक कोठाको ढोका र भान्छाको ढोका लगभग
चार चार बित्ताको फरकमा थिए। बैठक कोठाको
बाहिरी ढोकाबाट छिरेर भान्सामा पस्दै रुपाकी मालिकनीले रूपालाई विभिन्न आरोपमा
गाली गरिरहेकी थिई। नगरेको गल्तीमा स्वाभिमान गुमाउनु चानचुने कुरा थिएन। अझ म
त्यहाँ भएको थाहा पाए रुपाको मालिकनीले के
गर्थी होला ! रुपा र मैले कुन हदसम्मको
सजाय भोग्नुपर्ला ! मेरो मुटु जोडले उफ्रिन थाल्यो। श्वास रोकिएला
जस्तो भयो। पेट कटक्क काट्यो। मेरा हात खुट्टा एकाएक निलो देखिन थाले। ओहो
सबैभन्दा बढी त पेट काटेर आयो। कुनै ब्याक्टेरिया बिना डायरिया चल्न तयार भयो।म
थेग्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ। एकैछिन ऊ बसे मैले मेरा कपडा र रुपाको कोठा
भ्रष्ट गर्ने थिएँ। यो सत्य कुरा हो। मैले अनुभव गरेका कुरा शब्दमा उतारेकी छु। तर
त्यो पल भगवानले या संयोगले बर्बाद हुनबाट जोगायो। म त्यति काँतर त होइन तर समयले काँतर
पनि बनाउँदो रहेछ । ऊ गई। म हतार गर्दै ट्वाइलेट भित्र पसे। एउटा नमिठो तितो सत्य
मनमा आयो मनभित्रै राखेर म फेरि बाहिर उही हावा र पानीको चिसोपनमा निस्किएँ। बाहिर बस्दा ट्वाइलेटको सुविधाले
मैले पानी पटक्कै पिएको थिइनँ।
बेलुका झ्याप्प साँझ परेपछि रुपाले अब
उहाँकी मालिकनी आउँदिन भन्ने ग्यारेन्टीका साथ मलाई लुकेर उहाँको कोठामा रात बिताउनको लागि फोन
गर्नुभयो बिस्तारै उही चोरको हुलियामा घरभित्र पसेँ।
एकछिन पछि झापामै जन्मिनुभएकी दिपा बिष्टकी बहिनी कला बिष्ट रुपाको घरमा आउनुभयो। उहाँप्रतिदिन आठ घण्टा काम गरेर आफ्नो कोठामा स्वतन्त्र बस्नुहुन्थ्यो। कोठा कामदाताकै घर भएपनि बस्न केही सहज रहेछ। उहाँले मप्रति दयाभाव जगाउँदै भन्नुभयो " मेरो कोठामा राति सुत्नलाई यहाँ जस्तो डराएर बस्नुपर्ने अवस्था छैन। तर मसँग प्रशस्त ओढ्ने ओछ्याउने छैन। खाट सानो छ। जाने हो त दिदी!" म त्यहाँ डबल बेडमा सुत्नुभन्दा भुइमा सुत्न राजी भएँ। मनमा तनाव भयो भने ओछ्यानले निन्द्रा दिँदैन भन्ने कुरा प्रमाणित भयो। म कलासँग उहाँको कोठामा गएँ। त्यहाँ पनि केही सतर्कता अवश्य अपनाउनु पर्ने थियो। बाहिर ढोका ढक ढक भयो भने दिदी तपाईँ तुरुन्तै ट्वाइलेटमा पस्नु है । मेरो व्यक्तिगत ट्वाइलेट भएको कारण हत्तपत्त त्यहाँ कोही पस्दैनन्। कलाको सुझाव थियो। कलाले मिठो खाना पकाउनुभयो । खाना टन्न खाएँ।राती ढुक्कले बस्न पाउने भएकोले पानी पनि टन्न पिएँ। म घरी घरी उठेर ढोका खोल्दा कलालाई भयङ्कर बाधा भएको थियो। आत्मा ग्लानी हुन्थ्यो। कला थाहा पाएर पनि नपाए जस्तो गरेर सुत्नुभएको थियो। कलासँग पहिले नै परिचय भएको भए पनि नजिकिएको पहिलोपटक थियो। त्यो कञ्चन हृदयमा कति महानता रहेछ कति प्रेम रहेछ नजिक भएपछि मात्र थाहा भयो। त्यति प्रेम र सद्धभाव पाएर पनि नमिठो तितो सत्यले रातभरि चिमटी रह्यो
बिहान भएपछि कला काममा जानु भयो म पनि
साथीहरूको धेरै तिरबाट फोन आएको थियो काम हेर्न
दुई हातमा आफूलाई दैनिक चाहिने
समान जस्तै :- ( दुई तीन जोर लुगा , तौली,ब्रस , मञ्जन, काइँयो जस्ता अति आवस्यक चीज ) प्लास्टिकको झोलामा बोकेर काम हेर्नको
लागि निस्किएँ। कहिले गाडी कहिले ट्याक्सी लिएर विभिन्न ठाउँमा काम हेरेँ तर
भनेजस्तो र आफूलाई सहज हुने काम पटक्कै भेटिनँ। दिनभरिको यात्रापछि रुपाको गेट
हुँदै कलाको रुममा साँझ बिताउन दैनिक आइपुग्थेँ ।
दस दिन लगातार यसरी नै बित्यो। त्यसपछि अरु साथीहरु आतिन थालेका थिए। पुनम
राईले यता आउनु बस्न भन्न थाल्नुभएको
थियो। निर्मला कोइरालाले पनि र पुनम सुवेदीले पनि । राई पुनम र निर्मला
कोइरालाकोमा भन्दा पुनम सुवेदीकोमा बस्न अलिक सहज जस्तो मानेर म लिमसोलबाट
निकोसिया तर्फ हुँइकिएँ ।
मेरा साथिहरु महान आत्माका थिए ।धर्म गर्न
मन्दिर धाउनु पर्दैन थियो ।पाए सम्म विदेशमा बसेर
सेवा गरिरहेका थिए। मसँगै सीता गौतम पनि आउनुभएको रहेछ। उहाँ पनि
नयाँ कामको खोजीमा हुनुहुँदो रहेछ। अर्काको घरमा दुई दुई जना लुकाएर राख्न
ससक्नु पुनम सुवेदीको चानचुने आँट थिएन।
यो आँटलाई सलाम गर्दै त्यहाँ पनि डराउँदै बस्यौँ। बल्ल आएका साथी भनेर
पुनमले मिठो मसिनो पकाउनुभयो। नेपाल छोडेदेखि त्यतिको मिठो खाना पाएको पनि सायद
पहिलोपटक हो जस्तो लाग्यो। हुन त रूपाकोमा
र कलाकोमा मिठो खाना नखाएको होइन र कहिलेकाहीँ छुट्टीमा पनि खाएका थियौ ।तर
त्यहाँ विशेष रमाएर खायौँ । सुत्ने बेला भयो। दिन जसरी टरेपनि साँझ परेपछि एउटा
नमिठो कल्पना मनमा आउने गर्दथ्यो। त्यहाँ सीता र म एउटै ओछ्यानमा सुत्यौँ। सीता
मजाले निदाउनुभयो। म त्यति राम्रो निदाउन सकिन। त्यहाँ लगभग सात दिनको बसाईपछि सीता
काममा लाग्नुभयो।त्यसपछि म एउटा ओछ्यानमा एक्लै भएँ। मजाले सुतेँ छु ।
बिहान ढिलो सम्म सुतेको भएर
पुनमले आश्चर्य मिश्रित आवाजले बोलाउनुभएको थियो। त्यो आवाजले मेरो मनमा जस्तो
परेको थियो सायद पुनमको मनमा पनि त्यस्तै परेको हुनसक्छ मलाई लागेको थियो उठेर म
तयार भएँ। पुनमले चिया पकाएर दिनुभयो ।मैले
चिया सुर्को तान्दै पूनमलाई रुपाको घरमा बस्दादेखिको तितो अनुभव सुनाए
" पुनम ! यसरी म लुकेर बस्दा यदि
राती नै मरे भने के हुन्छ होला अनि के गर्नु हुन्छ ? मैले बोली नभ्याउँदै पुनमले बुढी माउ आज ढिलो
उठ्दा चिप्लियौ कि जस्तो लाग्यो ! कस्तो डर लाग्यो आफ्नो साथी गुमाउनुको पीडा त
छँदै छ । तर यहाँका मान्छेले मलाई के गर्छन् होला ! लुकाएर राखेको छु । मेरो सरले
के गर्छन् होला। पुलिस प्रशासनले के गर्छ होला ! तिमी मरेर बर्बाद हुन्छ्यौ म
जिउँदै बर्बाद हुन्छु । के थाहा ! तिमी
बुढी बेलाबेलामा बिरामी भइरहन्छ्यौ । हामी मान्छे हौं ।कुन बेला मर्छौं थाहा
हुँदैन । मलाई हो यो कुराले आज दुःख दिएको थियो ।तपाईंलाई पनि दुःख दिएको रहेछ ।
साथीहरुले मलाई प्राय तपाईं भन्नुहुन्थ्यो ।धेरै माया गरेको बेला तिमी भन्नु
हुन्थ्यो । हाम्रा दुवैको आँखा अलि अलि मलिन भएपनि कुरा यथार्थ भएकोले रुन्चे
हाँसो खुब हाँस्यौ । पूनमलाई धेरै धेरै
धन्यवाद दिँदै र प्रेमको आँसु खसाल्दै पुनमसँगबाट बिदा लिएर त्यसको दुईदिन पछि म काममा लागें।