१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहकार्य गर्ने सहमति भएको छ। केही क्षण अघि दुवै पक्षबीच ७ बुँदे सम्झौता हस्ताक्षर भएको पुष्टि गरिएको छ।
सम्झौता अनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले निरन्तरता दिनेछन् भने आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने उल्लेख छ।
चुनाव चिन्ह पनि रास्वपाकै ‘घण्टी’ रहनेछ। सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गरेका छन्।
यहाँ सम्झौताका ७ बुँदा:
१. युवाहरूले गरेका भ्रष्टाचारविरुद्धका आन्दोलनलाई सम्मान गर्दै घाइते तथा सहिद परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।
२. आर्थिक तथा सामाजिक प्रगतिका लागि आवश्यक नीतिगत, संस्थागत र संरचनागत सुधार गरी अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आययुक्त राष्ट्र बनाउने लक्ष्यप्रति निष्ठापूर्वक लाग्ने।
३. एकता पछि बन्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने, निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी भएको झण्डा, चुनाव चिन्ह ‘घण्टी’ नै रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने।
४. पार्टीका सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका दावेदार बालेन्द्र शाह हुने।
५. एकतापछि पार्टी संरचनालाई अझ सक्षम र व्यापक बनाउन युवा अभियन्ता तथा अनुभवी व्यक्तिहरूलाई समावेशिता, योग्यता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी वितरण गर्ने।
६. यस सम्झौताअनुसार रास्वपाका कागजात निर्वाचन आयोगमा अद्यावधिक गरिने।
७. लोकतान्त्रिक सुशासन, समृद्धि र सामाजिक न्यायका मुद्दामा ‘घण्टी’ चिन्हकै वरिपरि संगठित भई अन्य वैकल्पिक, शिष्ट र परिवर्तनमुखी शक्तिहरूलाई सहकार्यको आह्वान गर्ने।
— रवि लामिछाने | बालेन शाह
१३ पुस २०८२, काठमाडौं